17 posts

स्वच्छ नेपाल स्वस्थ नेपाल

"स्वच्छता नै सभ्यताको पहिचान हो।" यो भनाइले स्वच्छताको महत्वलाई स्पष्ट रूपमा देखाउँछ। म विश्वास गर्छु कि स्वच्छ वातावरणले मात्र स्वस्थ र सुखी जीवन प्रदान गर्न सक्छ। त्यसैले स्वच्छ नेपाल स्वस्थ नेपाल केवल एउटा नारा मात्र नभई हामी सबैले व्यवहारमा उतार्नुपर्ने अभियान हो। म अध्ययन गर्ने विद्यालयमा सरसफाइ र अनुशासनलाई विशेष महत्व दिइन्छ। विद्यालय परिसर सफा राख्ने फोहोरलाई डस्टबिनमा फाल्ने तथा कक्षाकोठालाई व्यवस्थित राख्ने बानीले मलाई पनि स्वच्छताको महत्व बुझ्न मद्दत गरेको छ। विद्यालयमा हुने सरसफाइ कार्यक्रम तथा वातावरण संरक्षणसम्बन्धी गतिविधिहरूमा सहभागी हुँदा स्वच्छता केवल व्यक्तिगत जिम्मेवारी नभई सामाजिक दायित्व पनि हो भन्ने अनुभूति हुन्छ। आज हाम्रो समाजमा फोहोर व्यवस्थापन एउटा चुनौतीको रूपमा रहेको छ। सार्वजनिक स्थल सडक तथा नदीहरूमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिले वातावरण प्रदूषित बनाएको छ। यसले विभिन्न रोगहरू फैलिनुका साथै प्राकृतिक सौन्दर्यलाई पनि असर पुर्‍याएको छ। यस्ता समस्याको समाधानका लागि प्रत्येक नागरिक सचेत हुन आवश्यक छ। म आफ्नो घर विद्यालय र वरपरको वातावरण सफा राख्ने प्रयास गर्छु। साना-साना कार्यहरू जस्तै फोहोर उचित स्थानमा फाल्ने, प्लास्टिकको प्रयोग कम गर्ने र अरूलाई पनि सरसफाइप्रति प्रेरित गर्ने कामले ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने मेरो विश्वास छ।स्वस्थ नागरिक नै राष्ट्र विकासका आधार हुन्। जब विद्यालय, घर र समुदाय सबै स्वच्छ हुन्छन्, तब मात्र स्वस्थ समाज र समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ। त्यसैले स्वच्छता हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बन्नुपर्छ। अन्त्यमा स्वच्छ नेपाल निर्माण गर्ने जिम्मेवारी हामी सबैको हो। आजबाटै आफूले सक्ने सानो योगदान दिन थालेमा भोलि हाम्रो देश अझ सुन्दर, स्वस्थ र समृद्ध बन्नेछ। के हामीले आफ्नो वरिपरि सफा राख्ने बानीलाई अझ मजबुत बनाउन सकेका छौं ?