0 posts · Story

हराएको ठेगाना

धेरै वर्षदेखि म एउटा ठेगाना खोजिरहेको छु। त्यो नक्सामा छैन। गुगलमा छैन। कुनै सरकारी कागजमा पनि छैन। तर अनौठो कुरा के छ भने,त्यहाँ पुग्न टिकट चाहिँदैन, समय चाहिन्छ। परिचयपत्र चाहिँदैन, सम्झना चाहिन्छ। एक दिन आँखा बन्द गरेर म त्यही बाटो हिँड्न थालेँ।पहिलो मोडमा एउटा सानो हात भेटियो, जसले कसैको औँला समातेर पहिलो पटक संसार चिनेको थियो।दोस्रो मोडमा एउटा अक्षर भेटियो, जसलाई लेख्न सिक्दा पेन्सिलभन्दा धेरै हिम्मत खर्च भएको थियो।तेस्रो मोडमा एउटा हाँसो भेटियो। किन हाँसेको थाहा छैन, तर त्यसको आवाज अझै मनभित्र गुञ्जिरहेको छ। केही पर पुगेपछि केही आँसुहरू पनि भेटिए। अनौठो कुरा त के थियो भने, ती आँसुहरू पनि मुस्कुराइरहेका थिए।अन्तिम मोडमा एउटा ढोका देखियो। ढोकाले केही सोधेन, केवल विस्तारै खुल्यो।भित्र पस्ने बित्तिकै समय रोकिएजस्तो लाग्यो। त्यहाँ कुनै घडी चलेन, कुनै उमेर बढेन, कुनै सम्झना पुरानो भएन। त्यहाँ म थिएँ९सानो, जिज्ञासु र निडर०।त्यहाँ मेरा साथीहरू थिए, जो आज टाढा छन्, तर सम्झनामा अझै छेउमै बस्छन्।त्यहाँ मेरा शिक्षकहरू थिए, जसले उत्तर लेख्न मात्र होइन, प्रश्न गर्न पनि सिकाए।अनि त्यहाँ एउटा बगैँचा थियो, जहाँ फूलभन्दा धेरै सपना फुलेका थिए।त्यस क्षण मैले बुझेँ, म कुनै हराएको ठेगाना खोजिरहेको थिइनँ।म त आफ्नै विद्यालय खोजिरहेको रहेछु। किनकि संसारमा केही ठेगानाहरू यस्ता हुन्छन्, जुन नक्सामा भेटिँदैनन्। ती केवल हृदयमा बस्छन् र अचम्म के थियो भने,म त्यहाँ फर्किनु पर्ने थिएन।किनकि त्यो ठेगाना छोडेर गएको थिएँ,तर त्यो ठेगानाले मलाई कहिल्यै छोडेर गएको थिएन। आज पनि जब म आँखा बन्द गर्छु,म बाटो देख्छु।नक्सामा होइनसमनभित्र। अनि त्यही बाटोले मलाई फेरि त्यहीँ पुर्‍याउँछ, जहाँ मैले पहिलो पटक आफूलाई भेटेको थिएँ।