सम्पादकको कलम
लेख्नु भनेको आफूलाई बाहिर निकाल्नु हो । चित्र कोरेर, गीत लेखेर वा गाएर अनि कविता, कथा, निबन्ध र उपन्यास आदि लेखेर एउटा मान्छेले आफूलाई अरुले बुझ्ने गरी सार्वजनिक गर्न सक्छ । स्कुले ससाना नानीबाबुसँग पनि बाहिरिने रहर उनीहरु जत्रै र जस्तै रुपमा विकसित भइरहेको हुन्छ । घर र विद्यालयले यिनीहरुलाई अनुकूल वातावरण तयार गरिदिनु पर्छ । डेजी स्कुलले प्रकाशित गरेको यो पत्रिका ससाना प्रतिभाहरुको बगैँचा हो । घरमा गुनगुनाउने आमाको आवाजले उनीहरुलाई छुन्छ । त्यसैले बाआमाको भाषा श्रमलाई सम्मान गर्ने, समतामूलक समाजमा रमाउने,असल र सफल नागरिक बन्नका लागि सदा प्रेरित गर्ने सुगन्ध बोक्ने खालको हुनुपर्छ । स्कुल भनेको घरबाट तयार भएर आएका नानीबाबुलाई आलोचनात्मक चेतसहितको सिर्जनशील नागरिक उत्पादन गर्ने थलो बन्नुपर्दछ । हामी यस्तै विद्यालय बनाउने अभियानमा छौँ । ससाना विद्यार्थीहरुमा सकारात्मक उत्सुकता पैदा गराउनका लागि डेजी स्कुलका शिक्षकहरु हरतरहले क्रियाशील हुनुहुन्छ । विद्यार्थीलाई नियमित शिक्षण सिकाइ क्रियाकलाप बाहेक उनीहरुको अतिरिक्त क्षमता विकासका लागि सहयोगी विधा र क्षेत्रसँग पनि खेल्न दिनुपर्दछ । विद्यालय प्रतिभाहरुलाई मलजल गरी थप योग्यता प्रदान गर्ने ठाउँ पनि त हो । सानाहरुले कागजमा रङ्गसँग खेलेको हेर्दा कति रमाइलो हुन्छ । कतिले आफू जस्तै सुन्दर कविता कोरेका छन् । नेपाली र अंग्रेजी भाषाका माध्यमले आआफ्नै तरिकाले भावनालाई अनुवाद गर्ने प्रतियोगिता जस्तो पनि छ यो प्रकाशन । २०५६ सालदेखि प्रकाशन हुँदै आएको यो सिर्जना सङ्ग्रहले केही वर्ष थकाइ पनि मार्यो । अहिले फेरि थप ऊर्जाका साथ यो अभियानलाई अघि बढाउने निर्णय गरेर विद्यालयले सत्कर्म गरेको छ । विद्यालय व्यवस्थापन, प्रधानाध्यापक, शिक्षक साथीहरु र प्यारा विद्यार्थी भाइबहिनीहरुको आआफ्नै भूमिका र सहभागिताले डेजी गार्डेनलाई यो स्वरुपमा तपाईहरुसँग संवाद गर्नसक्ने बनाएर ल्याएका छौँ । आशा छ सबैको, अझ विशेष गरी सचेत अभिभावकको, साहित्यकार र साहित्य अनुरागी सबैसबैको प्रेम यो अभियानलाई मिल्ने नै छ ।धन्यवाद !